शिक्षकका जिम्मेवारीहरु विद्यार्थीलाई दिन सकिँदैन त ?

July 18, 2023

गैँडाकोट/३ साउन-शिक्षणको सन्दर्भमा अत्यन्तै जिम्मेवार र महत्त्वपूर्ण व्यक्तिका रुपमा शिक्षकको भूमिका रहने गर्दछ । यो भूमिका निर्वाह गर्ने क्रममा स्वतःउसको कार्यभार बढ्न पुग्दछ । कक्षाकोठा जानुपूर्व गरिने कार्य, कक्षा कोठाभित्र गरिने कार्य र कक्षा कोठाबाट बाहिरिए पछि गरिने कार्यहरुको सूची बनायो भने एक फेहरिस्त बन्न पुग्छ । यही कार्यभारले गर्दा शिक्षण निरसिलो बन्दै गएको छ भने अर्कोतिर अहिलेको युवा पुस्तामा यस पेशा प्रतिको आकर्षण पनि कम छ या भनौ छदै छैन । शिक्षण पेसालाई मर्यादित सँगसँगै आकर्षित पेसाका रुपमा स्थापित गरी शिक्षकको कार्यभारलाई सरल बनाउँदै शिक्षणमा नयाँविधि र प्रविधिको प्रयोग गर्न सकेमा अपेक्षित सिकाइ उपलब्धि सजिलै हासिल गर्न सकिने कुरा जानकारी गराउँदै काठमाडौँ विश्वविद्यालयले विजय सामुदायिक शिक्षा सदनका शिक्षकहरुका लागि एक दिने कार्यशाला सम्पन्न गरेको छ ।


विद्यालयका सम्पूर्ण शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यशालाको पहिलो सत्रमा शिक्षकहरुले वर्तमान समयमा शिक्षण गर्ने सन्दर्भमा के कस्ता विधिहरुको प्रयोग गर्दै आएका छन् भन्ने विषयमा छलफल गरिएको थियो । शिक्षकहरुलाई विभिन्न समूहमा विभाजन गरी शिक्षकको कार्यभार के के हुन्छ ? भनेर समूहगत प्रस्तुति गर्न लगाइएको थियो । सो क्रममा सहभागी केही शिक्षकहरुको अनुभव सुन्दै गर्दा अझै पनि परम्परागत पद्धति मै रुमलिएको भान हुन्थ्यो ।


परम्परागत शिक्षण विधिको प्रयोगले शिक्षकको कार्यभार बढाउने हुँदा विद्यार्थीलाई सक्रिय सहभागी गराई २१ औँ शताब्दी अनुकूलको शिक्षण विधिको प्रयोग गर्नुपर्ने कुरामा काठमाडौँ विश्वविद्यालयका सहजकर्ता डा. पार्वती ढुङ्गानाले जोड दिनुभयो । अहिलेको शिक्षणको केन्द्र भनेकै विद्यार्थी भएकोले विद्यार्थीकै अनुभव, रुचि र सहभागितामा आधारित कक्षा शिक्षण गर्दा सिकाइ अझै फलदायी हुन सक्ने भन्दै यसका लागि फ्लिप्ड लर्निङ र सहभागितामुलक एप्रोच गरी यी दुई विधिलाई प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ रहेको थियो ।


पछिल्लो समय निकै चर्चा सँगसँगै प्रयोगमा पनि आइरहेका यी दुई विधिले शिक्षकको भूमिकालाई गौंण बनाउँदै शिक्षकलाई एक सहजकर्ताका रुपमा स्थापित गराउँछ भने विद्यार्थीहरुलाई सिकाइका लागि थप जिम्मेवार बनाउँछ । यसो हुनु भनेको अप्रत्यक्ष रुपमा शिक्षकको कार्यभारमा सहजता आउनु हो अझ सोझै भन्दा शिक्षकको कार्यभार घट्नु पनि हो ।


कार्यशालालाई सहजीकरण गर्दै काठमाडौँ विश्वविद्यालयका रेजिना केसीले पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धिसँग सम्बन्धित हुने गरी हामीले कक्षाकोठामा फ्लिप्ड लर्निङ र सहभागितामुलक एप्रोचलाई प्रभावकारी रुपमा प्रयोग गर्न सकिने बताउनु भयो । साथै उहाँले अहिलेका शिक्षकहरुलाई ब्लुमअस ट्याक्सोनोमिका बारेमा पनि जानकारी हुनुपर्ने र सोही अनुसारको शिक्षण कक्षामा गर्नुपर्ने कुरामा जोड दिनुभयो ।


कार्यशालाको दोस्रो सत्रमा व्यद अजबचतका बारेमा सहजीकरण गरिएको थियो । शिक्षण सिकाइको महत्त्वपूर्ण एउटा पाटो शिक्षक हो भने अर्को महत्त्वपूर्ण पाटो विद्यार्थी नै हुन् , अझ भनौं शिक्षण सिकाइका सन्दर्भमा शिक्षक र विद्यार्थी एक सिक्काका दुई पाटा हुन् । यदि यसो हो भने शिक्षकका जिम्मेवारीहरु विद्यार्थीलाई दिन सकिँदैन त ? कार्यशालामा यो प्रश्नले एक छिन शिक्षकहरुलाई सोच्न बाध्य बनायो । जब व्यद अजबचतका बारेमा शिक्षकहरुलाई बुझाइयो तब उहाँहरुले आफ्ना केही जिम्मेवारीहरु विद्यार्थीलाई पनि दिन सकिने रहेछ भन्ने कुराको बोध गर्नुभयो ।


व्यद अजबचत को प्रयोगले शिक्षक र विद्यार्थी दुवैलाई फाइदापुग्ने कुरा पनि सहभागी शिक्षकहरुबाट नै आयो । उहाँहरुको भनाइमा व्यद अजबचतले कार्यको बाँडफाँड गर्ने हुँदा शिक्षकको कार्यभार घट्छ भने विद्यार्थीहरुले केही न केही नयाँ जिम्मेवारी पाउने हुँदा उनीहरुमा नेतृत्वसँगै व्यक्तित्व विकास, सक्रिय सहभागिता, खोज गर्ने बानीको विकास, तार्किकता जस्ता सिपएवम् क्षमताको विकास हुन सक्ने बताउनुभयो ।


काठमाडौँ विश्वविद्यालयले शिक्षकहरुलाई सहजकर्ता हुन आग्रहगर्दै कार्यभारलाई सरल गराउँदै सिकाइ प्रक्रियामा सहभागी भएमा सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ भन्दै गर्दा सहभागी शिक्षकहरु पनि आफूलाई आजैबाट परिवर्तन गरी सिकाइको नयाँ गोरेटो तय गर्ने कुरामा गम्भीर देखिन्थे । कार्यशाला काठमाडौंँ विश्वविद्यालयको सहकार्यमा विजय सामुदायिक शिक्षा सदनको सभाहलमा सम्पन्नभएको थियो जसको सहजीकरण काठमाडौँ विश्वविद्यालय अन्तर्गतको सिपिइसि कार्यक्रमका कोअर्डिनेटर डा. पार्वती ढुङ्गाना र सोही विभागका शिक्षक प्रशिक्षक रेजिना केसीले गर्नुभएको थियो ।