समावेशी शिक्षा आवश्यक

Dec. 20, 2023

काठमाडौँ /३० मंसिर – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनको सिपिइसी अन्तर्गत तालिमामा सहभागीहरूलाई दीक्षित गरिएको छ । तालिम सहभागीहरूलाई ३ क्रेडिट आवर ९४८ घण्टा० कोर्सको प्रमाणपत्र प्रदान गरि दीक्षित गरिएको हो ।


तालिममा शिक्षक, अनुसन्धानकर्ता, विद्यार्थी तथा अटिजम भएका बालबालिकाको अभिभावकहरू सहित २५ जनाको सहभागिता रहेको थियो । तालिमलाई डा. मुक्ति प्रकाश थपलिया र सरिता खड्काले सहजीकरण गरेका थिए । डा. थपलियाले सहभागीहरूसँग तालिमबाट प्राप्त ज्ञान तथा सीपहरूका साथ सहभागीहरूले तालिम पश्चात् आफ्नो कार्यक्षेत्रमा गरेको अनुभवबारे छलफल गरिएका थिए ।


स्कुल अफ एजुकेशनका एसोसिएट डिन डा. धनपति सुवेदीले ३ क्रेडिटको कोर्स लिएर नेपालमा कसरी समावेशी र विशेष शिक्षा कार्यान्वयन गर्न सकिन्छ भनेर सोच राखिएको बताए । उनले नेपालमा समावेशी तथा विशेष शिक्षाका चुनौतीहरूको बारेमा उल्लेख गर्दै पूर्वाधारहरूको हिसाबले समावेशी तयार हुन नसकेको र मानवीय स्रोत पनि कमी रहेको बताए ।


कार्यक्रममा सहभागीहरूले कोर्सले आफ्नो कार्यक्षेत्रमा सहजता गरेको र छोटो कोर्स भएता पनि अपाङ्गताको बारेमा जानकारी भएको विचार व्यक्त गरेका थिए । पहिला तालिमका लागि बाहिर जान बाध्य थियो भने यस कोर्स देश भित्र नै प्राप्त गर्न सकेको अनुभव व्यक्त गरे । तालिमले गर्दा अपाङ्गता भएका बालबालिकालाई आफ्नो विद्यालयमा सहज रूपमा भर्ना गर्न सकिने अवस्था भएको महसुस समेत अनुभवको क्रममा जानकारी दिए ।


कोर्सका सहजकर्ता डा. मुक्ति प्रकाश थपलियाले यो कोर्स क्रेडिट आवरको आधारमा सञ्चालन गरिएको हुँदा अन्य विश्वविद्यालयमा जोडिन सकिने जानकारी दिए । उनले यस किसिमको कोर्सले अपाङ्गताको क्षेत्रमा अध्ययन गर्नका लागि अवसरहरू खडा भएको विचार बताए ।


स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइटेलले अपाङ्गताको क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ त्यो सम्बन्धी कार्यक्रम आगामी दिनमा आवश्यक रहेको बताउँदै आफूले जानेको कुरा अरूलाई सिकाउन आवश्यक रहेको भनाई राखे । उनले काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले तय गरेको कार्यक्रमहरूको बारेमा जानकारी दिएका थिए । साथै आगामी दिनमा विश्वविद्यालयले ६ महिने सर्टिफिकेट तहको कोर्स ल्याउन लागेको र भविष्यमा समावेशी शिक्षामा डिग्री नै प्रदान गरिने गरि सोच बनाएको बताए ।


कार्यक्रममा विश्वविद्यालयका एसोसियट डिन डा. प्रकाश चन्द्र भट्टराई, , एसोसियट डिन, डा धनपति सुवेदी, प्रबन्धक शिवनाथ मैनाली प्रबन्धक तथा सिपिइसी संयोजक डा. पार्वती ढुङ्गाना, विश्वविद्यालयको तर्फबाट सहभागिता रहेको थियो ।