विद्यार्थी सिकाइका लागि शिक्षक बढी दक्ष र सक्रिय हुनुपर्ने

Nov. 30, 2023

काठमाडौँ /११ मंसिर – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र र जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसन (जेम्स स्कुल) को सहकार्यमा सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।


शिक्षकको क्षमता विकासका निम्ति प्रगतिशील शिक्षण सिकाइ तथा प्रामाणिक मूल्याङ्कन विषयमा ३ कार्य घण्टा बराबरको एक वर्ष अवधिको (२०२२ नोभेम्बर – २०२३ नोभेम्बर) तालिममा सहभागी भएका शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।


विश्वव्यापीकरण र एक्काइसौँ शताब्दीको माग अनुसारको शैक्षिक दक्ष जनशक्ति उत्पादनसँग कक्षा सिकाइलाई जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो ।


काठमाडौँ विश्वविद्यालयकी सिपिइपी कार्यक्रम संयोजक डा.पार्वती ढुङ्गानाको संयोजकत्वमा सञ्चलित उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइटेलले तालिममा सहभागी सम्पूर्ण शिक्षकहरूलाई तालिमको प्रमाणपत्र वितरण गरेका थिए ।

लुइटेलले वर्तमान समयमा पनि विद्यार्थीको सिकाइमा शिक्षकको भूमिका नै महत्वपूर्ण रहेको बताए । उनले भने हरेक कक्षाका ४० प्रतिशत विद्यार्थीहरू आफैँ सिक्ने खालका हुन्छन् तिनीहरूलाई सहजकर्ताको खासै जरुरत पर्दैन भने ६० प्रतिशत विद्यार्थीले शिक्षकको सहजीकरण बिना केही सिक्न सक्दैनन् । त्यसैले हाम्रो शिक्षा प्रणाली भनेको विद्यार्थीमा आधारित नभई शिक्षकमा आधारित शिक्षण प्रणाली हो । विद्यार्थी सिकाइका लागि शिक्षक नै बढी दक्ष र सक्रिय हुनुपर्ने जस्ता विचार डा. लुइटेलले व्यक्त गरे ।


उक्त प्रमाणपत्रमा १ वर्ष अवधिको तालिमबाट प्राप्त उपलब्धिलाई समेटेर शिक्षकहरूले आआफ्नो विषयगत कार्य अनुसन्धान पत्र प्रस्तुत गरेका थिए ।


जेम्स स्कुलका शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले तालिमबाट प्राप्त उपलब्धिलाई शिक्षकले आफ्नो कक्षा कोठामा कार्यान्वयन गर्नुपर्ने र त्यस उपलब्धिबाट विद्यार्थी पूर्ण रूपमा लाभान्वित हुनुपर्ने बताउँदै काडमाडौँ विश्वविद्यालय र तालिममा सहभागी शिक्षकहरूलाई धन्यवाद व्यक्त गरे ।


विद्यालयका प्रिन्सिपल अनिल चन्द्र राईले यस्ता तालिमले शिक्षकलाई तातोपानीको पोखरीमा जस्तो अलिअलि छाम्दै विस्तारै पसेजस्तो होइन चिसो पानीको तलाउमा एकैचोटि झ्याम्मै हाम फाल्न सक्ने किसिमको कुशलता प्रदान गर्ने विचार व्यक्त गरे ।