खुला हुन नसकेको खुला विश्वविद्यालय

July 11, 2023

काठमाडौं/२६ असार-शिक्षविद् प्रा.डा. बालचन्द्र लुइँटेलले खुला विश्वविद्यालय वास्तवमै खुला बन्न नसकेको धारणा व्यक्त गरेका छन् । खुला विश्वविद्यालय बनेपछि धेरै कार्यक्रम शहर केन्द्रित भएको र एउटा निश्चित तप्काका मान्छे बाहेक अरूले पढ्न नसक्ने मोडमा गएको बताउँदै खुला बन्न नसकेको धारणा व्यक्त गरेका हुन् ।

उनले भनेका छन् ‘नेपालमा २०६० पछिका शैक्षिक बहस मध्ये एउटा तर महत्वपूर्ण विषय थियो खुला सिकाई । यसको बारेमा धेरैले बहस पैरवी गर्नु भयो । काठमाडौं विश्वविद्यालयमा रहेका हामी केहीले खुला विश्वविद्यालयको निर्माणको (पूर्वाधार समिति बन्ने) क्रममा क्षमता विस्तार तथा विकासमा सहयोग गरेका थियौं । हाम्रो दृष्टिमा नेपालमा खुला सिकाईले भुई मान्छेलाई समेट्छ भन्ने थियो । मैले पिजिडी, एमएस्सी र पिएचडी गर्दा कर्टिन युनिभर्सिटिले दुरशिक्षा मार्फत शिक्षकहरूको वृत्तिविकासमा खेलेको भूमिका सुरूमा दुरशिक्षा मार्फत पढिरहेका शिक्षकहरूको सहपाठी भएर र पछि आफैँ इन्स्ट्रक्टर भएर अनुभव गरेको थिएँ ।’

शिक्षविद् लुइँटेलले नेपालमा खुला विश्वविद्यालयको सम्भाव्यता समुदायमा हुने ज्ञान र सीपजन्य अभ्यासलाई जोड्नु पर्ने बताएका छन् । विश्वविद्यालय आएर पढ्न नसक्ने दुरदराजका नागरीकहरूलाई छोटो अवधिको कोर्सहरू सन्चालन गरेर, समुदाय–केन्द्रित सिकाइ कार्यक्रम चलाएर, सिपमा आधारीत कार्यक्रमहरू विस्तार गरेर, बहुबिधिहरूको प्रयोग गरेर र समुदाय भित्रका विभिन्न विधामा पोख्त व्यक्तिहरू मार्फत पारस्पारिक सिकाई गरेर उच्चशिक्षालाई ‘सम्भ्रान्त’हरूको मात्र विषय हैन भन्ने कुरा अभ्यासत सिद्ध गर्नुपर्ने उनको भनाई छ ।

‘तर, यसको उल्टो भयो । “हामी पढेको मान्छे नपढेको जान्दैनौँ” भनेजस्तै खुला विश्वविद्यालय बनेपछि प्राय सबै कार्यक्रम शहर केन्द्रित, एउटा निश्चित तप्काका मान्छे बाहेक अरूले पढ्न नसक्ने मोडमा गयो । तल्लो तहबाट सुरू हुनुपर्ने माथिबाट सुरू भयो । रिजिडिटीमा पुराना विश्वद्यालय भन्दा पनि ‘खतरा’ देखियो । अझैपनि यसले आफ्नो मार्गलाई खुला बनाओस’ उनले भनेका छन् ।

क्रेडिट एक्युमुलेशन फ्रेमवर्कलाई आधार बनाएर कार्यक्रम चलाए त काम गर्दै आफ्नो अनुकुलमा भ्याउने र सक्ने कोर्स गर्दै बिस्तारै निश्चित तह (स्नातकोत्तर, स्नातक, डिप्लोमा) पुरागर्ने वातावरण हुने उनको सुझाब छ । त्यसैगरी अनुभवजन्य सिकाई ( वर्क वेस/एक्सपेरिमेन्टल/प्रायर/इन्फरमल लर्निङ) मार्फत केही क्रेडिट छुट दिएर सिकाई अवधि घटाउन सकिने उनको भनाइ छ । अहिले खुला (दुर) सिकाईको ९८ प्रतिशत भार नेपाल खुला विश्वविद्यालय सँग नभएको समेत उनले बताएका छन् ।